नेपाल परिवार दलको घोषणा - पत्र
संविधान सभाको चुनाव २०६४
विषय सूची
१. पृष्ठभूमि... ४
२. नेपाल परिवार दलको आधारभूत सिद्धान्त.... ४
३. राष्ट्रको पुनः संरचना... ५
३.१. राज्यको पुनः संरचना.. ५
३.२. सङ्घीय तथा प्रादेशिक सरकार. ६
३.३. राजसंस्था र गणतन्त्रप्रतिको दृष्टिकोण.. ६
३.४. धार्मिक समावेशिता.. ६
३.५. सुरक्षा निकाय सम्बन्धी धारणा.. ७
३.६. संसदको संरचना.. ७
३.७. केन्द्रीय सरकारको संरचना.. ७
३.८. न्यायपालिकाको संरचना.. ७
३.९. प्रादेशिक सरकारको अवधारणा.. ७
४. राष्ट्रले अवलम्बन गर्नुपर्ने नीतिहरू. ८
४.१. सु–शासन. ८
४.२. स्वतन्त्रता र मानव अधिकार. ८
४.३. कानुनी समानता.. ८
४.४. आर्थिक नीति.. ८
४.५. शिक्षा.. ९
४.६. सञ्चार माध्यम.. ९
४.७. नागरिकता.. १०
४.८. भूमिहीन नागरिकप्रतिको नीति.. १०
४.९. वैदेशिक नीति.. १०
४.१०. गैर–आवासीय नेपाली.. १०
४.११. राष्ट्रिय सुरक्षा.. ११
४.१२. सम्पत्तिको हक र जिम्मेवारी. ११
४.१३. राष्ट्रिय पुँजीपति.. ११
४.१४. त्रिकोणात्मक सहभागिता.. ११
५. मानव विकास.. ११
५.१. महिला सहभागिता र सशक्तीकरण.. ११
५.२. बाल विकास.. १२
५.३. युवा वर्ग तथा विद्यार्थी.. १२
५.४. पिछडिएको वर्ग, आदिवासी र जनजाति.. १२
५.५. तराई मधेश. १२
५.६. अल्पसङ्ख्यक र शारीरिक अपाङ्ग... १३
५.७. शहीद र राजनैतिक पीडित. १३
५.८. भूतपूर्व सैनिक, भूतपूर्व प्रहरी, सेवा निवृत कर्मचारी. १३
५.९. भाषा, साहित्य र संस्कृति.. १३
५.१०. श्रमिक/मजदूर वर्गको हित. १३
६. विकास कार्यक्रमहरू. १४
६.१. भौतिक पूर्वाधार. १४
६.२. पर्यटन. १४
६.३. औद्योगिक विकास.. १४
६.४. कृषि तथा खाद्यान्न सुरक्षा.. १५
६.५. नयाँ ग्रामीण जागरण (New Village Movement) १५
६.६. स्वास्थ्य सेवा.. १५
६.७. खाने पानी/सिँचाई. १५
६.८. जल–स्रोत विकास.. १६
६.९. विज्ञान तथा प्रविधि.. १६
६.१०. रोजगारी. १६
६.११. प्राकृतिक स्रोत र साधनको उपयोग. १६
६.१२. सहकारी विकास.. १६
६.१३. व्यवस्थित शहरीकरण र आधुनिक ग्रामीणीकरण.. १६
६.१४. नव विकास अवधारणाहरू. १७
७. राष्ट्रिय समस्याहरू र निराकरण.. १७
७.१. भूमिसुधार. १७
७.२. वन तथा भु–संरक्षण.. १७
७.३. पर्यावरणीय सन्तुलन. १७
७.४. प्राकृतिक प्रकोप. १७
७.५. गरिबी निवारण.. १८
७.६. समाज कल्याण तथा सामाजिक सुरक्षा.. १८
७.७. क्रान्तिकारी सामाजिक अभियान. १८
७.८. लक्ष्य हासिल गर्ने प्रक्रिया.. १८
८. संविधानसभामा नेपाल परिवार दलको एजेण्डा.... १९
९. विविध.. १९
९.१. पुरस्कार र सम्मान. १९
९.२. शैक्षिक बेरोजगार. २०
९.३. उत्तरी तथा दुर्गम क्षेत्रको विकास.. २०
९.४. कडा कानुन. २०
९.५. विभिन्न दलहरूप्रतिको धारणा.. २०
९.६. अल्पसङ्खयकहरूप्रतिको दृष्टिकोण.. २१
९.७. स्वयम् सेवा.. २१
९.८. नयाँ ठाउँहरूको विकास.. २१
९.९. अन्य
१. पृष्ठभूमि TOP
एक्काइसौँ शताब्दीको यस ऐतिहासिक युगमा, विश्वका एकथरि राष्ट्रहरू शान्ति, लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता, विकास, प्रविधि र सम्पन्नताको प्रतिफलसहित रमाइरहेका छन् भने अर्काथरि राष्ट्रहरू उक्त कुराबाट वञ्चित भइ गृहयुद्ध, गरिबी, अशिक्षा र द्वन्द्वको भुमरीमा परी उकुसमुकुस अवस्थामा जीवनयापन गरिरहेका छन्। यतिखेर सम्पूर्ण नेपालीहरूको एकमात्र चाहना नेपाली–नेपालीबीच सद्भाव, सह–अस्तित्व, शान्ति, समृद्धि र विकासको बीउ रोप्नको लागि अनुकूल वातावरण तयार गर्नु रहेको छ।
नेपालीहरूले सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, अखण्डता र स्वतन्त्रताको लागि विभिन्न कालखण्डमा गरेका बलिदान एवं पुर्याएका योगदानहरूको कदर हुन सकिरहेको छैन। यसैको फलस्वरूप मुलुकको विभिन्न भाग र क्षेत्रमा हिंसा, अशान्ति र असुरक्षा व्याप्त छ भने नागरिकको लागि न्यूनतम दैनिक उपभोग्य सामग्रीहरूको समेत उचित व्यवस्थापन हुन सकिरहेको छैन। नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम तोकिएको समयमा सरकारले संविधानसभाको निर्वाचन गराउन नसकी दुई–दुई पटक स्थगित गरेको अवस्थामा अब तेस्रो पटक संविधानसभाको निर्वाचन गराउने तरखर भइरहेको छ। नेपालको इतिहासमा नेपालीले संविधानसभामार्फत आफ्नो संविधान आफै निर्माण गर्ने र सोहीद्वारा शासनव्यवस्था सञ्चालन गर्ने अवसरलाई सदुपयोग गर्नु आजको प्रमुख विषय हुन आएको छ।
अबको नेपालको संविधान निर्माण र राज्यसञ्चालन परम्परागत शैलीमा मात्र आधारित हुनुहुँदैन। यसका लागि समाजका सबै लिङ्ग, वर्ग, जातजाति, समुदाय र क्षेत्रको प्रतिनिधित्व हुनु त आवश्यक नै छ, यस बाहेक इमान्दार राजनीतिज्ञ, विभिन्न क्षेत्रका विशेषज्ञ, राष्ट्रसेवामा रहेका सेवानिवृत्त व्यक्तित्व, महिला, युवा, हिमाल, पहाड, तराईका पिछडिएका वर्ग, शारीरिक रूपमा अशक्त तर मानसिक रूपमा सबल र विभिन्न विधामा ख्यातिप्राप्त व्यक्तित्वहरूको समेत उचित प्रतिनिधित्व गराउनुपर्ने अहिलेको समयको माग रहेको छ। यिनै कुरालाई मध्यनजर राखी हामी शान्ति, एकता, प्रेम, अहिंसा र विकासप्रेमी नेपालीहरूले नेपालको प्रचलित कानुनबमोजिम नेपाल परिवार दल नामक राजनीतिक दल गठन गरेका छौँ। यो नेपाल परिवार दल सम्पूर्ण राष्ट्रप्रेमी नेपाली परिवारहररूको साझा दल हो।
२. नेपाल परिवार दलको आधारभूत सिद्धान्त TOP
व्यक्ति/व्यक्ति, स्त्री/पुरुष, परिवार–परिवारको व्यवहार र व्यवस्थापन नै सुशासनको नमुना तथा समाज र राष्ट्रको संरचनात्मक एकाइ हो भन्ने कुरामा नेपाल परिवार दल विश्वास राख्दछ। प्रत्येक व्यक्ति र परिवारमा विकास गरिने सबैभन्दा महत्त्वपूर्ण चरित्र भनेको हामी आफ्नो लागि भन्दा अरूको लागि बाँच्नुपर्दछ भन्ने हृदयभावको अङ्कुरण गर्नु हो। अतः समुदाय, भावी सङ्घीय एवं प्रदेशिय नेतृत्व गर्ने वर्गमा सबै नागरिक र जनताप्रति पितृमातृहृदय हुनुपर्दछ भन्ने यो दलको सिद्धान्त रहेको छ। कुनै पनि जननिर्वाचित सरकारको सही अर्थ तथा वैधानिकता त्यस बेला कायम हुन्छ, जब सरकारले जनतालाई न्यूनतम आधारभूत आवश्यकताहरू पुर्याउन सक्ने क्षमता राख्दछ। यस अर्थमा नेपाल परिवार दलको सिद्धान्त मुलुकमा सदैव सु–शासन कायम राख्ने, नागरिक–नागरिकबीच सद्भाव, शान्ति, प्रेम एवं अहिंसालाई अभिवृद्धि गर्ने रहेको छ। यो दलको मूल दर्शन आध्यात्मिकवाद र भौतिकवादबीचको प्राकृतिक सन्तुलन कायम गर्दै, क्षमा, साँचो प्रेम र एकतामा आधारित रही असल समाजको सिर्जना गर्ने, विश्वका सबै धर्म, जात, वर्ग, पेशा र क्षेत्रका नागरिकहरूसँग मित्रवत् व्यवहार गर्ने रहेको छ। यो दल तीन प्राथमिक कर्ताहरू – सच्चा शिक्षक, सच्चा अभिभावक तथा सच्चा स्वामी (मालिक) को सिद्धान्तलाई अवलम्बन गर्दछ।
३. राष्ट्रको पुनः संरचना TOP
३.१. राज्यको पुनः संरचना
सार्वभौमसत्ता जनतामा निहित नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त समान आकाँक्षा भएका सबै नेपाली नागरिकको साझा घर हो। नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली नेपालका राष्ट्रबासी हुन् र यो नै समग्रमा एक स्वतन्त्र र अविभाज्य राष्ट्र हो।
नेपालको अन्तरिम संविधान, २०६३ को भाग १७ मा परिकल्पना गरिएको राज्यको ढाँचालाई कार्यान्वयन गर्ने–गराउने सन्दर्भमा संविधानसभाको निर्वाचनमार्फत मात्र भौगोलिक तथा अन्य विशेषताको आधारमा राज्यको पुनः संरचना गरिनुपर्दछ भन्ने यो दलको मान्यता रहेको छ। यसरी पुनः संरचना गरिदा राष्ट्रिय अखण्डता, स्वाभिमान, वर्गीय एवं जातीय सद्भाव र स्वतन्त्रतालाई अक्षुण्ण कायम राखिनुपर्ने कुरालाई यो दलले गम्भीरतापूर्वक लिएको छ। स्थानीय तहमा उपलब्ध स्रोत र साधनको उच्चतम सदुपयोग गरी हिमाल, पहाड, तराईका पिछडिएको वर्ग, क्षेत्र, समुदाय, जातजाति, महिला, युवावर्ग आदिको सहभागिता राज्यको सम्पूर्ण अङ्गहरूमा सुनिश्चित गराउने नेपाल परिवार दलको अवधारणा रहेको छ। नेपाल परिवार दलले एक “तरुण नेपाल” को परिकल्पना गरेको छ।
यो दलले राज्यको पुनः संरचनासम्बन्धी आधारभूत सिद्धान्तहरूमा देहायका नीतिहरू अनिवार्य रूपमा अवलम्बन गर्नेछः–
(क) राष्ट्रको एकता, सार्वभौमिकता तथा अखण्डतामा कुनै पनि सम्झौता गरिनेछैन।
(ख) राष्ट्रिय संरचनाको दिगो र सकारात्मक रूपान्तरण व्यक्ति–व्यक्तिमा स्वस्थ संस्कारको विकास सँगसँगै आउनेछ।
(ग) राष्ट्रको शासकीय सबै अङ्गहरूमा सबै क्षेत्र, लिङ्ग, वर्ग र योग्यताको प्रतिनिधित्व समावेशी चरित्रको हुनेछ।
(घ) परिवारको नमूनामा आधारित भएर सामञ्जस्यपूर्ण संवाद र सहकार्य खोजिनेछ तथा सहज र पारदर्शिताको नीति अवलम्बन गरिनेछ। साथै, सोही आधारमा राज्यका सबै अङ्ग र निकायहरू परिचालन गरिनेछ।
३.२. सङ्घीय तथा प्रादेशिक सरकार TOP
नेपाल परिवार दल राष्ट्रिय स्तरमा सङ्घीय सरकार र प्रादेशिक तहमा प्रादेशिक सरकार गठन गरिनु उपयुक्त ठान्दछ। विशेषज्ञहरू सम्मिलित राज्य संरचना सम्बन्धी आयोगद्वारा प्रस्तुत प्रतिवेदनमा आधारित सङ्घीय तथा प्रादेशिक सरकारको गठन हुनेछ। सङ्घीय सरकार र प्रादेशिक सरकारबीचको सम्बन्ध एक पारिवारिक सिद्धान्तमा आधारित रही आफ्नो घररुपि राष्ट्रलाई मजबुत, सुरक्षित र समुन्नत बनाउने उद्देश्यबाट निर्देशित हुनेछ।
३.३. राजसंस्था र गणतन्त्रप्रतिको दृष्टिकोण TOP
विगतदेखि वर्तमानसम्म राजसंस्थाले नेपाल र नेपालीहरूको लागि खेलेको भूमिकाको मूल्याङ्कन, भावी भूमिकाको निर्धारण, परम्पराको निरन्तरता वा परिवर्तन आदि सम्पूर्ण अधिकार नेपाली जनतामा निहित रहेकोले यसको निर्णय पनि नेपाली जनताको अभिमतबाट नै हुनुपर्छ भन्ने नेपाल परिवार दलको मान्यता छ। यस संस्थाको भविष्यको टुङ्गो लगाउने सही तरिका भनेको शान्तिपूर्ण, भयरहित र निष्पक्ष ढङ्गबाट सम्पन्न हुने निर्वाचन पश्चात् बन्ने संविधानसभाको बैठकद्वारा गरिने निर्णयको आधार नै यस दलको राजसंस्थाप्रतिको अवधारणा हो।
आजको परिवर्तित सन्दर्भ भनेको जनहितप्रति समर्पित तथा देशप्रति बफादार रहने शक्ति वा राज्य संयन्त्र हो। नेपाल परिवार दल जनताद्वारा निर्वाचित लोकतान्त्रिक शक्तिले मात्र सामाजिक, राजनीतिक र आर्थिकलगायतका क्षेत्रमा परिवर्तन ल्याउन सक्छ भन्ने कुरामा विश्वास राख्दछ।
३.४. धार्मिक समावेशिता TOP
नेपाल हिन्दू धर्मावलम्बीहरूको बाहुल्य भएको मुलुक भएता पनि सबै धर्मावलम्बीहरूबीचको पारस्परिक सम्बन्धले गर्दा यहाँ हालसम्म धार्मिक सहिष्णुता रही आएको छ र यो अनन्तसम्म कायम हुनुपर्दछ। सरकारले धर्मले प्रधानता पाएको जनसमुदायको कदर र सम्मान गरेकै हुनुपर्दछ, जसको फलस्वरूप समाजमा धार्मिक र साम्प्रदायिक कलह नभई सबै धर्महरूले आपसी सहिष्णुता एवं सम्मानका साथ सह–अस्तित्वमा रही नेपालको शान्तिपूर्ण र गौरवमय परम्पराको पहिचान गर्नुपर्दछ। धर्मको भूमिकालाई शान्ति र सहिष्णुताका साथै परम्परागत पारिवारिक मूल्य–मान्यताप्रति सम्मान बढाउने सकारात्मक शक्तिको रूपमा प्रयोग गर्न सकिन्छ। अतः नेपाली जनतामाझ सबै धर्मको प्रतिनिधित्व हुने गरी एउटा अन्तरधार्मिक परिषद् निर्माण गरिनेछ। धर्मको लामो इतिहास र संस्कृतिलाई शान्तिमा रूपान्तरण गर्ने अवधारणाको विकास यो दलले गर्नेछ।
३.५. सुरक्षा निकाय सम्बन्धी धारणा TOP
जनपथ प्रहरी बल, सशस्त्र प्रहरी बल, सैन्य बल तथा राष्ट्रिय अनुसन्धान विभाग देशमा सामाजिक सामञ्जस्य, नियम कानुन र सुव्यवस्था कायम राख्न आवश्यक हुन्छन् भने देशको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्ने गहन अभिभारा राष्ट्रिय नेतृत्वमा निहित रहन्छ। तर ती बलहरूको दुरुपयोग हुन सक्छ। अतः यी बलहरूले आफ्नो शक्तिको दुरुपयोग नगरून् भन्ना खातिर त्यहाँ कार्यरत जनशक्तिहरूलाई विशेष गरीकन सेवा प्रवेशका प्रारम्भिक दिनहरूमा र सेवाकालमा नियमित रूपमा प्रशिक्षण दिनु तथा सेवामूलक कार्यमा लगाउनुपर्दछ। तिनीहरू समाजमा शान्ति सुव्यवस्था कायम गर्ने बल भएकाले सर्वप्रथम तिनीहरू नै निष्पक्षता, शान्ति सुव्यवस्थाप्रति प्रतिबद्ध, उदाहरणीय र उच्च चरित्रका प्रतीक हुनुपर्दछ। हामी देश र समाजका सेवक हौँ भन्ने उच्च मनोबल तथा भावनाले ओतप्रोत हुनुपर्दछ। युवक एवं विद्यार्थीहरूलाई राष्ट्रिय सेवा दलमा समावेश गरी विभिन्न तालिमका साथ–साथै हिंसाग्रस्त समुदायलाई कसरी मद्दत गर्ने, प्राकृतिक प्रकोपको व्यवस्थापन कसरी गर्ने, उद्धार कार्य कसरी सञ्चालन गर्नेबारे प्रशिक्षण दिनुपर्दछ। राज्यको सुरक्षा स्थिति मजवुत बनाउन सुरक्षा बलको मनोबल दरो बनाउने संस्कार विकास गर्नुपर्दछ। साथै, सुरक्षा बललाई राष्ट्रिय राजनीतिबारे सुसूचित गर्दै दलगत राजनीतिबाट अलग राख्नुपर्दछ।
३.६. संसदको संरचना TOP
नेपाल परिवार दल राष्ट्रिय तहमा दुई सदनात्मक संसद र प्रादेशिक तहमा एक सदनात्मक संसद हुनुपर्ने मान्यता राख्दछ। धार्मिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्थामा मद्दत पुर्याउन संसदमा विद्यमान विभिन्न समितिहरूमा एउटा अन्तर्धार्मिक समिति पनि थप्नुपर्ने यस दलको मान्यता छ।
३.७. केन्द्रीय सरकारको संरचना TOP
नेपालको केन्द्रीय सरकारको संरचना प्रधानमन्त्रीय साशन व्यवस्था अनुरूपको हुनेछ।
३.८. न्यायपालिकाको संरचना TOP
लोकतान्त्रिक मूल्य–मान्यताको जगेर्ना गर्दै संवैधानिक सर्वोच्चता कायम गराउने मूल जिम्मेवारी स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिकाको हुनेछ। केन्द्रमा सर्वोच्च अदालत र प्रदेशमा पुनरावेदन अदालत हुन्छ भने जिल्लामा जिल्ला अदालत हुनेछ।
३.९. प्रादेशिक सरकारको अवधारणा TOP
नेपालको पुनः संरचना जातीय, भाषा वा धार्मिक आधारमाभन्दा पनि भौगोलिक र जनघनत्व दुवैको आधारमा हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। विकेन्द्रीकरणको माध्यमबाट स्थानीय निकायलाई अधिकारसम्पन्न बनाई स्थानीय साधन र स्रोतको अधिकतम परिचालन गर्न सिकाइ स्वावलम्बी बनाउने लक्ष्य यस दलले लिएको छ।
४. राष्ट्रले अवलम्बन गर्नुपर्ने नीतिहरू TOP
४.१. सु–शासन
नेपाल एकातिर आन्तरिक कलह र सशस्त्र द्वन्द्वमा रुमलिएको छ भने अर्कोतर्फ यहाँका सार्वजानिक पद धारण गर्ने व्यक्तिहरू नै नातावाद–कृपावाद र भ्रष्टाचारमा बढी लिप्त रहेको अवस्था छ, त्यसैले राष्ट्रका प्रचलित मुख्य अङ्गहरू व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका एवं अन्य संवैधानिक अङ्ग तथा सरकारी निकायहरूमा सार्वजानिक पद धारण गर्न चाहने व्यक्तिहरूको योग्यता जाँच, तालिम र सुनुवाई आदिको वैज्ञानिक व्यवस्था गरिनुपर्दछ। यस्ता छनौट प्रक्रियामा राजनीतिक आग्रह वा पूर्वाग्रह, नातावाद–कृपावादको छायाँसम्म पनि पारिनुहुँदैन भन्ने मान्यता यो दलको रहेको छ। त्यसैगरी राष्ट्रका सार्वजानिक वा निजी सेवामा सेवारत मातहतदेखि उच्चतम पदाधिकारीहरूका लागि समयानुकूल आवश्यक पर्ने साधनसुविधा उपलब्ध गराउने र निजहरूलाई सुम्पिएको जिम्मेवारी कर्तव्यनिष्ठ तरिकाबाट वहन गर्न अभिप्रेरित गराउने किसिमका शिक्षा र प्रविधि उपलब्ध गराउने कुरालाई यो दलले विशेष महत्त्व दिने नीति अख्तियार गरेको छ। यस प्रक्रियाबाट सार्वजानिक पदमा रहेर व्यक्तिले जिम्मेवारी तथा अख्तियारको दुरुपयोग गरे–नगरेको निरीक्षण अख्तियार गरेको छ।
४.२. स्वतन्त्रता र मानव अधिकार TOP
स्वतन्त्रता र जिम्मेवारी, एवं मानव अधिकार र जिम्मेवारी एउटा सिक्काका दुई पाटाहरू हुन्, यसरी स्वतन्त्रता र मानव अधिकारलाई प्रत्येक नागरिककको जिम्मेवारीसँग आबद्ध गरिनुपर्छ भन्ने मान्यता यो दलको रहेको छ। यो दल मानवअधिकारसम्बधी नेपालले अनुमोदन गरेका सबै अन्तर्राष्ट्रिय सन्धि र दस्तावेजहरू र संयुक्त राष्ट्रसङ्घको वडापत्रको पालना गर्न गराउनमा प्रतिबद्ध रहनेछ।
४.३. कानुनी समानता TOP
नेपालको मूल कानुनमा व्यवस्था भएबमोजिम यो दल सबै जनतालाई कानुनसमक्ष समानताका साथ व्यवहार गरिनुपर्दछ भन्ने मान्यतामा विश्वास राख्दछ। त्यस्तै नियम कानुन लागू गर्दा सबै नागरिक तथा सिङ्गो राष्ट्रलाई फाइदा हुने, अर्थपूर्ण हुने गरी संवेदनशीलताका साथ प्रचलनमा ल्याउनुपर्दछ।
४.४. आर्थिक नीति TOP
नेपाल परिवार दलले देशको समानुपातिक विकास र त्यसमा पनि समाजमा पिछडिएको क्षेत्रका उत्थानलाई विशेष प्राथमिकता दिई उदारवादी खुल्ला अर्थतन्त्रलाई अपनाउनेछ। देशविदेशका लगानीकर्तालाई आकर्षण गर्न स्थायी, जवाफदेही तथा पारदर्शी अर्थनीति अवलम्बन गर्नेछ। अर्थनीतिको अन्तिम लक्ष्य भनेको सम्पूर्ण नेपाली नागरिकको सामूहिक उन्नति हुने अर्थिक जिम्मेवारी निर्वाह गर्नु हो। करनीति तय गर्दा निम्न आय भएका जनसङ्ख्याको आवश्कयतालाई विचार गरिनेछ। मुलुकमा रहेको प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, कृषि, पर्यटन एवं शिक्षा–स्वास्थ्य क्षेत्रको स्रोतहरूलाई अधिकतम परिचनालन गरी दिगो व्यवसायको रूपमा विकास गर्ने नीति लिनेछ।
४.५. शिक्षा TOP
शिक्षा सामाजिक विकासको मुख्य पूर्वाधार हो। कुनै पनि राष्ट्रिय योजनामा शिक्षालाई उच्च प्राथमिकता दिइएकै हुनुपर्दछ। सबैलाई निःशुल्क विद्यालय शिक्षाको अवसर दिइनुपर्दछ। शैक्षिक पाठ्यक्रमले दुई क्षेत्रलाई विशेष जोड दिने नीति लिनेछः– (क) ज्ञान र सीपको प्रसारण (प्राविधिक शिक्षा) र (ख) असल चरित्र तथा दिगो पारिवारिक संरचनालाई टेवा पुर्याउने शाश्वत मूल्य–मान्यताको प्रसारण। यस अर्थमा, शिक्षाको तीनओटा लक्ष्य हुन्छन्:– (क) बृहत्तर हितमा तल्लीन हृदयको उत्खनन गर्ने, (ख) सौहार्दपूर्ण मानवसम्बन्धको लागि आवश्यक सामाजिक र नैतिक आदर्शको बीजारोपण गर्ने तथा (ग) समाजमा योगदान पुर्याउन सक्ने कुनै विशेष प्राविधिक खुबी भएको जनशक्ति पैदा गर्ने। उत्पादित शिक्षित जनशक्तिहरूलाई स्वदेश तथा विदेशमा व्यवसाय गर्न सक्ने तुल्याउने नीति लिनेछ। बहुप्राविधिक विश्वविद्यालय (Polytechnic University), खुल्ला विश्वविद्यालय (Open University) लगायतको विकास गर्नका लागि उदार शिक्षा नीति नेपाल परिवार दलले अवलम्बन गर्नेछ। उच्च शिक्षा प्राप्त गरिसकेर पनि रोजगारीको अवसरबाट बञ्चित हुनपरेका शैक्षिक बेरोजगारहरूलाई राष्ट्रले बेरोजगार भत्ता उपलब्ध गराउनुपर्छ भन्ने यो दलको मान्यता छ।
४.६. सञ्चार माध्यम TOP
नेपालको सर्वाङ्गीण विकास र प्रगतिको लागि स्वतन्त्र र जिम्मेवारपूर्ण सञ्चार माध्यम एउटा महत्त्वपूर्ण सम्पत्ति हो। सञ्चार माध्यमले राष्ट्रको समुन्नत हितलाई अगाडि बढाउन ठूलो भूमिका खेल्न सक्ने भएकोले यो दल यसको स्वतन्त्रताको पूर्ण सम्मानको लागि कटिबद्ध छ। सञ्चार क्षेत्रको अभूतपूर्ण शक्तिलाई सामाजिक जिम्मेवारी वहन गर्न अभिप्रेरित गर्न यो दलले भूमिका खेल्नेछ। विद्यालयको औपचारिक शिक्षा समाप्त भए पनि, हामी छापाखाना वा विद्युतीय माध्यमहरूमार्फत सामाजिक शिक्षा प्राप्त गरी नै राखेका हुन्छौँ। अतः सञ्चारको भूमिका राष्ट्रका नागरिकहरूलाई निरन्तर सुशिक्षित तथा सुसूचित गरिराख्ने भएकोले सञ्चारमा कार्यरत पुरुष तथा महिलाले सिङ्गो समाजको नै शिक्षक र शिक्षिकाका भूमिका निर्वाह गरिरहेका हुन्छन्। अतः सञ्चारलाई शान्ति, निर्माण र संस्कृतिको विकासमा मुख्य भूमिका खेल्ने माध्यमको रूपमा लिइनेछ। सम्पूर्ण सञ्चार कर्मीहरूलाई एउटै साझा तथा बृहत् छातामुनि ल्याइ प्रशिक्षण, निरीक्षण तथा सेवा उपलब्ध गराइ हक, हित, जिम्मेवारी र सुरक्षाको सुनिश्चितता गर्ने वैज्ञानिक संयन्त्र विकास गर्ने सोच यस दलको रहेको छ।
४.७. नागरिकता TOP
सबै नेपालीले नेपाली नागरिकता पाउनुपर्दछ। प्रचलित कानुन बमोजिम सबै नेपाली नागरिकले मताधिकार पाउनुपर्दछ। नेपालमा बसोवास नगरेका नेपाली नागरिकले पनि मताधिकार पाउनुपर्दछ। नेपाली पुरुषका विदेशी पत्नी र तिनीहरूबाट जन्मेका सन्तान सरह नेपाली नारीको विदेशी पति तथा सन्तानको नाताले पनि नागरिकता पाउनुपर्दछ। गैर नेपालीले नेपाली नागरिकसँग विवाह गरेमा भिसा दस्तुर मिन्हा गरी लगानी तथा व्यवसायको क्षेत्रमा प्रोत्साहित गर्नु उपयुक्त हुन्छ।
४.८. भूमिहीन नागरिकप्रतिको नीति TOP
वास्तविक भूमिहीन नेपाली नागरिकहरूका लागि आवश्यक जाँचबुझ र छानविन गरी बसोवास गर्न तथा खेतीकमाई गर्न १५ वर्षसम्म बेचबिखन गर्न नपाइने शर्तमा सरकारी जमीन उपलब्ध गराउने यस दलको मान्यता छ। सम्पूर्ण नेपाली नागरिकलाई नेपाली भूमिको मालिक बनाउने सोच यस दलले राखेको छ। जमीन उपलब्द हुन नसक्ने अवस्थामा शिप र दक्षताको विकास गराइ स्वरोजगरतर्फ उन्मुख गर्ने यस दलको सोच रहेको छ।
४.९. वैदेशिक नीति TOP
राष्ट्रिय हितलाई सदासर्वदा सर्वोपरि स्थानमा राखी नेपालले सबै देशहरूसँग मित्रवत् रूपले "सबै राष्ट्रहरू एउटै विश्व परिवारका सदस्यहरू हुन्" भन्ने मान्यताका साथ पञ्चशीलको सिद्धान्तमा आधारित रही परराष्ट्र नीति सञ्चालन गरिनेछ। यस दलले संयुक्त राष्ट्रसङ्घ तथा अन्य देशहरूसँग पारस्परिक सहयोगका सम्बन्ध विस्तार गर्ने नीति लिनेछ। छिमेकी राष्ट्रहरूसँग परम्परादेखि रहिआएको पारस्परिक सहयोग एवं सद्भावको सम्बन्धलाई विस्तार एवं सुदृढ गरिनेछ। विश्वको सर्वोच्च शिखर उभिएको र शान्तिदूत गौतम वुद्ध जन्मेको देशका नेपालीहरूलाई “शान्ति नागरिक” को मान्यता प्रदान गर्न र सम्पूर्ण नेपालीहरूलाई विश्वभरि स्वतन्त्र र सहज रूपले भ्रमण तथा व्यवसाय सञ्चालन गर्न पाउने बनाउन पहल गरिनेछ।
४.१०. गैर–आवासीय नेपाली TOP
सम्पूर्ण गैर–आवासीय नेपाली नागरिकहरूलाई आफ्नो मातृभूमिको विकासमा सहभागी गराउन नेपाल सरकारको मातहतमा रहने गरी एक गैर–आवासीय नेपाली आयोग (Non-Resident Nepalese Commission) गठन गरिनुपर्ने यस दलको मान्यता छ। उक्त आयोगले गैर–आवासीय नेपालीको हित एवं संरक्षण गर्नुका साथै उनीहरूलाई नेपालमा लगानी गर्न अग्रसर गराइ राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन सहजकर्ताको भूमिका निर्वाह गर्नेछ। नेपालमा सामाजिक सद्भाव कायम राख्दै बन्दव्यापार गर्न नेपाल आउने गैर–आवासीय नेपालीलाई भिसा शुल्क मिन्हा गर्ने यस दलको योजना रहेको छ।
४.११. राष्ट्रिय सुरक्षा TOP
संवेदनशील क्षेत्रमा विशेष सुरक्षा नीति, पर्यटकीय क्षेत्रमा आधुनिक सुरक्षा नीति, सिमाना क्षेत्रहरूमा दूरदर्शी सुरक्षा नीति र राष्ट्रिय स्तरमा एक भरपर्दो दक्ष, वैज्ञानिक राष्ट्रिय सुरक्षा नीति अपनाउनुपर्ने नेपाल परिवार दलको धारणा छ।
४.१२. सम्पत्तिको हक र जिम्मेवारी TOP
नेपाल परिवार दल राष्ट्रका सम्पूर्ण नागरिकहरूमा कानुन बमोजिम व्यक्तिगत सम्पत्ति आर्जन गर्ने, बेचविखन गर्ने, भोगचलन गर्ने वा दान दिने हक सुरक्षित हुनुपर्दछ र कानुन बमोजिम कर तिर्नु प्रत्येक नागरिकको अनिवार्य जिम्मेवारी हो भन्ने मान्यता राख्दछ।
४.१३. राष्ट्रिय पुँजीपति TOP
राष्ट्रिय पुँजीपतिहरूलाई उचित कदर, सम्मान र राष्ट्रनिर्माणमा योगदान पुर्याउने अवसर प्रदान गरिनुपर्दछ भन्ने नेपाल परिवार दलको मान्यता रहेको छ।
४.१४. त्रिकोणात्मक सहभागिता TOP
नेपाल परिवार दलले सम्पूर्ण क्षेत्र, वर्ग, भाषाभाषी, लिङ्ग, धर्म, जातजाति, व्यवसाय, शिप र समूहका असल र योग्य व्यक्तिहरूको प्रतिनिधित्व हुने गरी विशेषतः तीन क्षेत्रलाई बढी महत्त्व दिनेछ।
(क) युवा क्षेत्रः– सेवाको संस्कार विकास गर्न
(ख) महिला क्षेत्रः– शान्तिको संस्थागत विकास गर्न
(ग) बौद्धिक क्षेत्रः– दर्शन तथा सिद्धान्तको विकास र प्रशिक्षण गर्न
५. मानव विकास TOP
५.१. महिला सहभागिता र सशक्तीकरण
आफूमा अन्तर्निहित स्वाभाविक किसिमको गुणका कारण महिलावर्ग पारिवारिक प्रेम, सद्भाव तथा शान्तिलाई बढावा दिने नेतृत्वको अद्वितीय नमुना प्रस्तुत गर्न सक्छन् भन्ने मान्यता यो दलको छ। शान्तिको लागि परिवार, समुदाय तथा राष्ट्रिय तहमा सामञ्जस्य र खुसी ल्याउन आवश्यक नैतिक आचरणको उच्चतम मूल्य–मान्यतालाई प्रतिनिधित्व गर्ने महान् शक्तिको रूपमा योगदान पुर्याउन महिलावर्ग सक्षम छन्। जसरी परिवारमा बुवा र आमाबीचको सुसम्बन्धले सन्तानको लालनपालनको लागि सबैभन्दा राम्रो आवश्यक भौतिक पूर्वाधार तथा भावनात्मक रूपले परिपक्व वातावरण तयार गर्दछ, त्यसरी नै राष्ट्रनिर्माणको कार्यमा पुरुष र महिलालाई समान हिस्सेदारको रूपमा सहकार्य गराउन यस दलले उचित पहल गर्नेछ। अतः यो दलले महिला समावेशी र सशक्तीकरणको नीतिलाई विशेष महत्त्वका साथ अगाडि बढाउनेछ। साथै शान्ति सुरक्षालाई दिगो र मजबुत बनाउन एक विशेष 'महिला सुरक्षा बल' निर्माण गर्ने दूरदृष्टि राख्दछ।
५.२. बाल विकास TOP
आजका बालबालिकाहरू भविष्यका कर्णधार भएकाले विशेष महत्त्वका साथ उनीहरूमा विद्यमान प्रतिभालाई प्रस्फुटन गराउन केन्द्रदेखि स्थानीय स्तरसम्म “बाल विकास योजना” लागू गरी बालबालिकाको हकहितको सुरक्षा र विकास गर्नुपर्ने नेपाल परिवार दलको मान्यता छ।
५.३. युवा वर्ग तथा विद्यार्थी TOP
युवालाई विशेष चार क्षेत्रमा अग्रसर गराइ राष्ट्रनिर्माणमा लगाइनेछः
(क) विकासमा युवा,
(ख) सेवामा युवा,
(ग) संरक्षणमा युवा
(घ) परिवर्तनमा युवा TOP
विभिन्न शैक्षिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा मात्र सीमित नराखी रचनात्मक र जानकारीमूलक तथा नेतृत्वदायी भूमिकामा अग्रसर गराउने यस दलको धारणा छ। त्यसैगरी विद्यार्थीको मस्तिष्क र हृदय दुवै पक्षलाई समान महत्त्व र जोड दिई विकास गराइ बौद्धिक र चारित्रिक दुवैगुण भएको जनशक्ति उत्पादन गर्न वर्तमान शिक्षा नीतिमा हेरफेर गर्नुपर्ने नेपाल परिवार दलको मान्यता छ।
५.४. पिछडिएको वर्ग, आदिवासी र जनजाति TOP
पिछडिएका वर्गको जीवनस्तर उकास्न, आदिवासी र जनजातिहरूलाई राष्ट्रिय स्तरमा समान अवसर प्रदान गर्नु जस्ता महत्त्वपूर्ण कुराहरू सभ्यता र सम्पन्नताको मापदण्ड हो भन्ने मान्यता नेपाल परिवार दलको छ। आदिवासी र जनजातिहरूको संस्कृति राष्ट्रको गहना हो भन्ने सम्झनुपर्दछ।
५.५. तराई मधेश TOP
तराई मधेशका समुदायप्रति न्यायपूर्ण र भेदभाव रहित व्यवहार गरिनुपर्दछ भन्ने यो दलको मान्यता रहेको छ। नेपालको बहुसांस्कृतिक समाजलाई अझ जागरुक रूपमा कायम राख्ने नेपालको ताकत भनेको यसका सबै नागरिकहरूको अधिकारलाई समान रूपले सम्मान गर्नु हो। तराई मधेशमा रहेका पिछडिएका जातजातिहरूलाई अझ बढी राज्यको मूलधारमा ल्याउनु आवश्यक हुन्छ। यसका लागि संविधानसभापछि हुने सङ्घीय संरचनामा यी कुरालाई ध्यान दिइनुपर्दछ। यसका साथै तराईमा बसोवास गर्ने पहाडी मूलका नेपालीहरूको हकअधिकारलाई समेत सुनिश्चित गर्दै तराईको उचित मागलाई सम्बोधन गर्नुपर्ने यस दलको मान्यता छ।
५.६. अल्पसङ्ख्यक र शारीरिक अपाङ्ग TOP
अल्पसङ्ख्यकहरूलाई समेट्नु समावेशी लोकतन्त्रको एक मान्यता नै हो। त्यसैले उनीहरूको शिप, साधन स्रोत र जनशक्ति राष्ट्र निर्माणमा लगाउने र राष्ट्रिय प्रतिफलको समान उपभोग गर्न पाउने अधिकार लगायत अन्य हक–हित सुनिश्चित हुनुपर्छ भन्ने यस दलको मान्यता छ। शारीरिक रूपमा अपाङ्ग सम्पूर्ण नेपाली नागरिकहरूलाई समान अवसर प्रदान गरी राष्ट्रिय राजनीति, आर्थिक, शिक्षाजस्ता क्षेत्रहरूमा अग्रसर गराउने नीति अँगालिनेछ। नेपाल परिवार दल सम्पूर्ण शारीरिक अपाङ्गहरूको समाजमा सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने मान्यता राख्दछ। शारीरिक अपाङ्गहरूको गास, वास र कपासको न्यूनतम आवश्यकता पूरा गर्न राज्य अग्रसर हुनुपर्दछ भन्ने यस दलको मान्यता छ।
५.७. शहीद र राजनैतिक पीडित TOP
शहीद भनेका उच्च उद्देश्यका लागि सबैभन्दा माथिल्लो स्तरको बलिदान गर्ने व्यक्ति भएकाले उनीहरूको सोही अनुरूप कदर हुनुपर्छ। राजनैतिक पीडितहरूको लागि राज्यले पूर्ण रूपमा जिम्मेवारी लिई राष्ट्र निर्माणमा उनीहरूलाई सहभागि गराइ, “नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवार” भन्ने मान्यता चरितार्थ गर्नुपर्दछ भन्ने परिवार दलको धारणा छ।
५.८. भूतपूर्व सैनिक, भूतपूर्व प्रहरी, सेवा निवृत कर्मचारी TOP
राष्ट्रसेवामा जीवनका सुनौलो समय दिएर योगदान पुर्याएका सम्पूर्ण भूतपूर्व सैनिक, भूतपूर्व प्रहरी, सेवा निवृत कर्मचारीहरूलाई राज्यले सधैँ मर्यादीत श्रेणीमा राख्नुपर्दछ। अवकाश पछिका दिनहरूमा उनीहरूको अनुभव र दक्षतालाई कसरी उपयोग गर्ने भन्ने विषयमा अध्ययन अनुसन्धान गरी कार्यक्रम अगाडि सार्ने सोच नेपाल परिवार दलको छ।
५.९. भाषा, साहित्य र संस्कृति TOP
जबसम्म भाषा, साहित्य र संस्कृतिको उच्चतम विकास र प्रवर्द्धन गर्न सकिन्न तबसम्म राष्ट्रको समुन्नत विकास सम्भव हुन्न। त्यसैले यी महत्त्वपूर्ण क्षेत्रको विकास गर्न केन्द्रीय र स्थानीय क्षेत्रमा एक प्रभावकारी संयन्त्र विकास गरी अगाडि बढ्नुपर्ने नेपाल परिवार दलको मान्यता छ।
५.१०. श्रमिक/मजदूर वर्गको हित TOP
श्रमिक र मजदूरहरू राष्ट्रिय विकासका मेरुदण्ड हुन्। योग्यता, शिप र श्रमको उचित मूल्याङ्कन, श्रमिक/मजदूरहरूले स्वास्थ्यको हेरचाह र उनीहरूका परिवारको शिक्षा-दीक्षा र सामाजिक मर्यादामा राज्यले विशेष ध्यान दिनुपर्छ भन्ने यस दलको मान्यता छ।
६. विकास कार्यक्रमहरू TOP
६.१. भौतिक पूर्वाधार
सम्पूर्ण नागरिकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान, सम्पर्क गर्न, व्यापार व्यवसाय सञ्चालन गर्न, नागरिक सुरक्षा प्रदान गर्न सुरक्षित, सुलभ र सुविधायुक्त यातायात र सञ्चारको विकास गर्ने नेपाल परिवार दलको सोच छ। उच्च विज्ञान र प्रविधिको सहायताले शहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म बाटोघाटो, तराईका समतल भागहरूमा रेलवे, पहाडी भूभागमा सुरुङ मार्गहरू, झोलुङ्गे तथा पक्की पुलहरू, आकासे मार्गहरू, सुन्दर पार्कहरू आदिको गरु योजना तयार पारि कार्यान्वयन गर्नुपर्ने यस दलको धारणा छ।
६.२. पर्यटन TOP
नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको अहम् भूमिका छ। पर्यटन विकास गर्न नेपालले हरेक सम्भावनालाई उपयोग गर्नुपर्दछ। नेपालको प्राकृतिक सम्पदा, कलाकौशल, गौरवमय इतिहास र संस्कृति पर्यटकीय आकर्षणका प्रमुख स्रोत हुन। ओझेलमा परेका तथा नखुलिसकेका क्षेत्रहरूलाई पनि चाँडै पर्यटन क्षेत्रको रूपमा विकास गर्न जरुरी छ। त्यस्तै, आन्तरिक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटनका सम्भावनाहरूलाई बढाउन विशेष किसिमका परियोजनाहरू सञ्चालन गर्न आवश्यक छ। यो दलले धार्मिक पर्यटकका लागि विशेष सुविधासहितको नयाँ योजना लागू गर्नेछ। विभिन्न जिल्लाहरूमा प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र ऐतिहासिक महत्त्वको कारणले आन्तरिक पर्यटन विकासको अत्यधिक सम्भावना छ र यो सम्भावनालाई बढी भन्दा बढी उपयोग गर्नुपर्छ भन्ने यस दलको मान्यता छ। स्वास्थ्य पर्यटन (Health Tourism) को अवधारणालाई अगाडि बढाउने नीति यो दलले लिनेछ।
६.३. औद्योगिक विकास TOP
वर्तमान युगमा औधोगिक विकासविना आर्थिक विकास सम्भव छैन। नेपालमा उद्योगहरूको विकास हुन नसकेको मात्र होइन कि स्थापना भएका उद्योगहरू समेत बन्द भइरहेका छन्। उद्योगहरूको विकास र संरक्षणको लागि सरकारी नीति अनुकूल नभएकाले यस्तो स्थिति उत्पन्न भएको हो भन्ने यस दलको ठहर छ। त्यसैले नेपाल परिवार दलले देशमा औधोगिक विकासको निमित्त अनुकूल वातावरण सिर्जना गर्न पहल गर्नछ। रोजगारको लागि फाइदामूलक मौका प्रदान गर्दा–गर्दै पनि विश्वमा आर्थिक उन्नतिले निम्त्याएको पर्यावरणीय प्रदूषण तथा मानवीय नैतिक मूल्य–मान्यतामा आएको ह्रासको प्रभावबाट नेपाली समाजलाई संरक्षण गर्न नेपाल परिवार दलले पारिवारिक मूल्य–मान्यतालाई अत्यन्त महत्त्वका साथ समाजमा विस्तार गर्ने नीति लिनेछ।
६.४. कृषि तथा खाद्यान्न सुरक्षा TOP
कृषिको आधुनिकीकरणले किसानहरूलाई उच्चतम प्रतिफल दिनेछ। आधुनिक औजार तथा प्रविधिले उत्पादकत्व मात्र बढाउँदैन कि, वितरणको लागि आवश्यक सञ्जाल पनि निर्माण गर्दछ। अतः नेपाल परिवार दलले कृषिको आधुनिकीकरणका साथै किसानका आवश्यकता र आर्थिक सुरक्षाको लागि विशेष किसिमका कार्यक्रमहरू निर्माण गर्न पहल गर्नेछ।
६.५. नयाँ ग्रामीण जागरण (New Village Movement) TOP
यतिखेर हामी नेपाली विभिन्न थरीका कलह, झगडा र द्वन्द्वको चपेटामा छौँ। यस अवस्थामा राष्ट्रलाई अगाडि बढाउन नयाँ ग्रामीण विकासको अवधारणालाई अघि बढाउनु अत्यन्त आवश्यक छ। सन् १९५०–५४ ताका कोरियाली युद्धबाट ध्वस्त र जीर्ण भएको दक्षिण कोरियालाई त्यहाँका राजनेता, प्रबुद्ध वर्ग, बुद्धिजीवी र नागरिकहरूले “आफ्नो कोरियालाई आफै विकास गरौँ” भन्ने साझा अभिप्रेरणाका साथ नयाँ ग्रामीण जागरण अभियान सुरु गरेका थिए। त्यसैको परिणामस्वरूप गाउँदेखि नगरका सबै क्षेत्र तीव्र गतिमा विकास हुनुका साथै विज्ञान र प्रविधिमा समेत अगाडि बढ्न सफल भएको थियो। यो दलले सबै क्षेत्रको स्रोत र साधनलाई परिचालन गरी नयाँ ग्रामीण जागरणलाई नेपाली परिवेशमा लागू गर्ने सोच राखेको छ। यस जागरणको प्रमुख लक्ष्य भनेको शिक्षा र शिप विकासको साथै चरित्र र नैतिक उत्थान पनि हो।
६.६. स्वास्थ्य सेवा TOP
स्वास्थ्य सेवासम्बन्धी नीतिहरू प्रतिरोधात्मक, उपचारात्मक तथा पुनर्स्थापन गर्ने प्रकृतिको हुनुपर्दछ। तिनीहरूले पूर्वीय तथा पाश्चात्य उपचारप्रणालीलाई समेटेको हुनुपर्दछ। प्राथमिक स्वास्थ्य उपचार सबै नागरिकलाई निःशुल्क र सरल तरिकाले प्राप्त हुनुपर्दछ। मातृस्वास्थ्य सेवा तथा बालमृत्युका विषयमा समष्टिगत रूपमा सम्बोधन गरिएको हुनुपर्दछ। यस सन्दर्भमा विचारणीय विषाय के छ भने व्यक्तिको स्वास्थ्य र प्रगतिको निर्णायक शक्तिशाली तत्त्व भनेको व्यक्तिको आफ्नै परिवार हो। एउटा पूर्ण परिवारले जन्मेको क्षणदेखि प्रारम्भ भइ जीवनभर निरन्तर सकारात्मक प्रभाव दिइरहन्छ। अतः विभिन्न पुस्ताको परिवारप्रणालीमार्फत प्राप्त हुने परम्परागत आडभरोसाको पहिचान गर्दै उसको विकासमा जोड दिइनुपर्दछ। प्रतिरोधात्मक स्वास्थ्य सेवाअन्तर्गत सरकारले हाम्रो पारिवारिक संस्कारको गौरवमय परम्परालाई व्यवस्थित गर्न तथा बढावा दिन सक्दो प्रयास गर्नुपर्दछ। यस विषयमा यो दलले मनोवैज्ञानिक पूर्वीय तथा पाश्चात्य स्वास्थ्यसेवालाई व्यक्ति, परिवार समुदाय हुँदै राष्ट्रभर पुर्याउने नीति लिनेछ।
६.७. खाने पानी/सिँचाई TOP
नेपालमा अपार जल भण्डार छ। यसलाई सदुपयोग गरी सम्पूर्ण नागरिकलाई स्वस्थ पिउने पानीको सुलभ व्यवस्था र अत्याधुनिक प्रविधि मार्फत कृषाकहरूलाई सिँचाई सुविधा उपलब्ध गराउँदै कष्टकर जीवनलाई सरल बनाई “हरित क्रान्ति” ल्याउनुपर्ने मायन्ता यस दलको छ।
६.८. जल–स्रोत विकास TOP
नेपालमा अपार जलस्रोत क्षमाता छ। देशको विकासको लागि जल–स्रोत ज्यादै महत्त्वपूर्ण ऊर्जा भएकाले यसको उचित प्रवर्धन तथा विकास गर्नु अपरिहार्य छ। वातावरणीय सन्तुलन र प्राकृतिक सुन्दरतालाई अक्षुण्ण राखी साना जल विद्युत् परियोजना सञ्चालन गर्नुपर्ने कुरा नेपाल परिवार दल जोड दिन्छ। विश्वस्तरमा विकास गरिएका उच्च प्रविधि नेपालमा भित्र्याएर जल–विद्युत्को अधिकतम उत्पादन गरी राष्ट्रलाई धनी बनाउने योजना यो दलले अङ्गिकार गरेको छ।
६.९. विज्ञान तथा प्रविधि TOP
नेपाली समाजलाई एक सभ्य, आधुनिक, सुविधायुक्त, दरिलो, प्रतिस्पर्धी बनाउन विज्ञान र प्रविधिको द्रुततर विकास अति आवश्यक देखिन्छ। त्यसैले नेपाल परिवार दल विश्व स्तरमा विकास र परीक्षण गरिसकिएका उच्च विज्ञान र प्रविधि नेपालमा भित्र्याई सूचना प्रविधि, कम्प्यूटर विज्ञान, ईन्जिनियरीङ्ग आदि क्षेत्रको विकासको लागि नयाँ योजना ल्याउन चाहन्छ।
६.१०. रोजगारी TOP
कुनै पनि शिक्षित तथा शिपयुक्त नेपाली नागरिक बेरोजगार बस्न नपरोस् भन्नाका खातिर स्वरोजगार (Self Empoyement) कार्यक्रमलाई अगाडि बढाउन नेपाल परिवार दलले पहल गर्नेछ, जसको माध्यमबाट सम्पूर्ण नागरिक राष्ट्र निर्माणमा सहभागी हुन सक्नेछन्।
६.११. प्राकृतिक स्रोत र साधनको उपयोग TOP
सम्पूर्ण प्राकृतिक साधन र स्रोतहरू प्रकृतिका वरदान हुन्। यिनको संरक्षण, विकास तथा उपभोगमा सम्पूर्ण नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्दछ। त्यसैले विज्ञान र प्रविधिको सहायताले प्राकृतिक साधन र स्रोतको उत्खनन गरी राष्ट्रलाई समृद्ध बनाउने सोच यस दलले राखेको छ।
६.१२. सहकारी विकास TOP
ग्रामीण क्षेत्रलाई अगाडि बढाउन प्रभावकारी ढङ्गले वैज्ञानिक सहकारी विकास अभियानलाई तीव्रता दिनुपर्ने यस दलको मान्यता छ।
६.१३. व्यवस्थित शहरीकरण र आधुनिक ग्रामीणीकरण TOP
अव्यवस्थित बस्ती विकासले यातायात, बिजुली, खानेपानी, सञ्चार, पर्यटन आदिपक्षलाई प्रतिकूल असर पारेको तथ्यलाई मनन गर्दै विशेषज्ञहरूको सहायताबाट शहरी क्षेत्रलाई व्यवस्थित गर्ने र प्रत्येक गाउँलाई आधुनिक सुविधा सम्पन्न गराइ आधुनिक सुन्दर गाउँको परिकल्पना साकार पार्ने सोच नेपाल परिवार दलले राखेको छ।
६.१४. नव विकास अवधारणाहरू TOP
नेपाल परिवार दलले राष्ट्रको चौतर्फी विकास गर्न निम्न नव विकास अवधारणाहरू अगाडि सारेको छः
(क) आधुनिक कृषि प्रणाली,
(ख) प्राविधिक शिक्षाको विकास,
(ग) आन्तरिक/क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटन उद्योगको विकास,
(घ) दूरदर्शी जलविद्युत् उत्पादन कार्यक्रम,
(ङ) जडिबूटीको उचित व्यवस्थापन तथा प्रवर्द्धन कार्यक्रम,
(च) विज्ञान तथा प्रविधिको विकास,
(छ) नव युवाहरूलाई खोजमूलक एवं अनुसन्धान मूलक कार्यमा उत्प्रेरित गरी उनीहरूले आर्जन गरेको शिप र प्रविधिको उचित उपयोग तथा सम्मान
७. राष्ट्रिय समस्याहरू र निराकरण TOP
७.१. भूमिसुधार
वैज्ञानिक भूमिसुधार आयोजनामार्फत उर्वरा भुभागहरूलाई अधिकतम उत्पादन दिने गरी प्रयोगमा ल्याउने, खण्डित जग्गाको एकीकरण गर्ने, भूमिविहीनहरूलाई भूमिको मालिक बनाउन नीति नेपाल परिवार दलले अँगाल्नेछ।
७.२. वन तथा भु–संरक्षण TOP
मानिसहरूमा बढ्दो स्वार्थी भावनाले गर्दा वन फडानी, वन पैदावारको दुरुपयोग र गैरकानुनी कारोबार आदिले दिनानुदिन वन सम्पदाको ह्रास, भूक्षय र भूमण्डलीय तापक्रममा वृद्धि (Global Warming) भएको तथ्यलाई ध्यानमा राखी व्यापक जनजागरण र यस सम्बन्धी राष्ट्रिय नीतिमा सुधार ल्याउने तथा सामुदायिक वनको सफल उदाहरणलाई विशेष महत्त्व दिने सोच यस दलको रहेको छ।
७.३. पर्यावरणीय सन्तुलन TOP
मानिस सम्पूर्ण सम्पदाको मालिक भएकोले यसको संरक्षण गर्नु पनि प्रत्येक व्यक्ति र राज्यको दायित्व हो। त्यसैले पर्यावरणीय सन्तुलन कायम गर्न नागरिकहरूलाई यस विषयमा प्रशिक्षित बनाउने र सो अनुरूप कार्यक्रम ल्याउनुपर्ने धारणा यस दलको छ।
७.४. प्राकृतिक प्रकोप TOP
प्राकृतिक असन्तुलन र अप्राकृतिक मानवीय कार्यले प्राकृतिक प्रकोप निम्त्याउने गरेको छ। यसबाट सम्पूर्ण नागरिकलाई सुरक्षित बनाउन, प्रकोप व्यवस्थापन गर्न र प्रकोपको समयमा छिटो राहत प्रदान गर्न एक दरिलो कोष स्थापना गरी दूरदर्शीताका साथ अघि बढ्नुपर्ने धारणा यस दलको छ।
७.५. गरिबी निवारण TOP
गरिबी मानवीय विकासको एक प्रमुख समस्याको रूपमा नेपाली समाजमा विद्यमान छ। यसलाई निवारण गर्न आर्थिक विकासलाई अगाडि बढाउने, शिक्षा क्षेत्रलाई अझ फराकिलो, सर्व सुलभ बनाउने, सम्भाव्यताका आधारमा आन्तरिक र बाह्य रोजगारीका अवसर वृद्धि गर्ने विशेष योजना यस दलले अघि सार्नेछ।
७.६. समाज कल्याण तथा सामाजिक सुरक्षा TOP
विशेषत गाउँको परिवेशमा विभिन्न पुस्ता सहितको विस्तारित परिवारमा सामाजिक सुरक्षाका समस्या प्रभावकारी ढङ्गले समाधान भएको देखिन्छ। उमेर र ज्येष्ठताको कारणले बाजेबज्यैहरू सम्मानका पात्र हुन्छन्; अधबैँसे पुरुष र महिला परिवारको वास्तविक आर्थिक भार खेप्छन् भने नव जवानहरू केही वर्षमा जिम्मेवारी वहन गर्न आफूलाई तयार गर्दै रहेका हुन्छन्। त्यसै कारण नेपाल परिवार दल हरेक क्षेत्रको स्थायित्वको लागि समाज कल्याण र सामाजिक सुरक्षाको कार्यक्रम सहित परम्परागत परिवार प्रणालीलाई बलियो बनाउनुपर्ने मान्यता राख्दछ।
७.७. क्रान्तिकारी सामाजिक अभियान TOP
नेपाली समाजको विकास गर्न नेपाल परिवार दल निम्न क्रान्तिकारी सामाजिक रूपान्तरणको अवधारणा राख्दछः
(क) सरकारी तहबाट नै अन्तर्धार्मिक, अन्तरसांस्कृतिक, अन्तरजातीय सामूहिक विवाह पद्धतिको विकास गरी सामाजिक रूपान्तरण गर्ने।
(ख) पहाड वा हिमाली क्षेत्रमा बसोवास गर्ने नेपाली र तराई मधेशमा बस्ने नेपालीबीच नेपालको नियम–कानुनको मातहतमा रही विवाह गर्ने दम्पतीलाई योग्यताअनुसारको रोजगारीमा प्रथमिकता दिने वा व्यवसाय सञ्चालन गर्न सघाउने नीति राज्यले अपनाउने
(ग) प्रत्येक तराई मधेशमा बसोवास गर्ने नेपालीहरूको परिवार र हिमाल तथा पहाडमा बसोवास गर्ने नेपालीहरूको परिवार आपसमा मित लगाइ फोटोसहितको प्रमाण–पत्र घरमा राख्न प्रोत्साहित गर्ने।
७.८. लक्ष्य हासिल गर्ने प्रक्रिया TOP
कुनै पनि राष्ट्रले अपेक्षित लक्ष्य हासिल गर्न सबैभन्दा आवश्यक पर्ने कुरा के हो भने, प्रत्येक जनताको हृदयमा राष्ट्रप्रति बफादारी, स्पष्टता, प्रतिबद्धता एवं कर्मको संयोजन हुनुपर्दछ। यी कुराहरू प्राप्त गर्न सबैले स्वेच्छाले सार्वजनिक भलाइको लागि आफूलाई समर्पित गर्दै समाजको बृहत्तर हितमा अग्रसर हुनुपर्दछ। जसरी एउटा पूर्ण मानव हुनको लागि हामीलाई एउटा स्वस्थ र बलियो शरीरसहित एउटा स्पष्ट मन चाहिन्छ, सोहीबमोजिम सर्वप्रथम देशभरि छरिएर रहेका उत्कृष्ट मन–मस्तिष्कलाई राष्ट्रको सर्वोपरि हितको लागि सामूहिक सहकार्यमा एकताबद्ध गराउने किसिमका कार्यक्रम आवश्यक हुन्छ। एवं प्रकारले दक्ष, शिक्षित, तालिम प्राप्त, अभिप्रेरित र सम्मानजनक मानव स्रोतहरूको समुचित सञ्चालन एवं व्यवस्थापनको खाँचो हुन्छ। राष्ट्रमा रहेका प्राकृतिक एवं मानवीय स्रोतहरूलाई प्रभावकारी ढङ्गबाट संयोजन गरी सम्पूर्ण राष्ट्रबासीको हकहित, सुविधा, सेवा र राष्ट्रहितको लागि सबै देशभक्त नेपालीलाई जुटाउन नेपाल परिवार दल सदैव प्रयत्नशील रहनेछ। यस प्रक्रियाबाट नै राष्ट्रको लक्ष्य हासिल गर्ने र सर्वाङ्गीण विकासलाई सुनिश्चित गर्ने यो दलको नीति रहेको छ। लोकतन्त्रको संस्थागत विकास गर्न सर्वप्रथम राजनैतिक दलहरूभित्र नै पूर्ण प्रजातान्त्रिक पद्धतिको विकास र सम्मान गर्ने संस्कारको विकास हुनुपर्दछ भन्ने मान्यता यो दलको छ।
८. संविधानसभामा नेपाल परिवार दलको एजेण्डा TOP
– सह–अस्तित्वपूर्ण सङ्घीय राज्य र संवैधानिक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली
राष्ट्रिय एकता, सद्भाव र प्रेम प्रवर्द्धन गर्ने लोकतन्त्र
सम्पूर्ण नेपालीको साझा र वैज्ञानिक समावेशी लोकतन्त्र
त्रासमुक्त, स्वतन्त्र र अहिंसाको संस्कारयुक्त लोकतन्त्र
सुशासन र असल नेतृत्व सुनिश्चित भएको लोकतन्त्र
पारदर्शी, दूरदर्शी र उत्तरदायी लोकतन्त्र
समुन्नत विकास र संवृद्धि बोकेको लोकतन्त्र
– स्वाभिमानी नेपाली जनताको आफ्नै पहिचान दिलाउने लोकतन्त्र
९. विविध TOP
९.१. पुरस्कार र सम्मान
राष्ट्र निर्माणको महान् कार्यमा तीव्रता र हौसला प्रदान गर्न राष्ट्रिय महत्त्वका निम्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति/संस्थालाई पहिचान गरी वर्षको एकपटक पुरस्कार तथा सम्मान दिने नीति नेपाल परिवार दलको अँगालेको छ।
(क) कृषि
(ख) शिक्षा
(ग) पर्यटन
(घ) जलस्रोत
(ङ) जडीबुटी संरक्षण र विकास
(च) वातावरण
(छ) उद्योग व्यवसाय
(ज) सेवा
(झ) राष्ट्रिय सद्भाव र एकता
(ञ) अन्तर्राष्ट्रिय समझदारी विकास
(ट) विज्ञान तथा प्रविधि
(ठ) आदर्श परिवार
९.२. शैक्षिक बेरोजगार TOP
कुनै पनि शिक्षित व्यक्तिहरू बेरोजगारी बस्न नपरोस् भन्नाका लागि राज्य संरचना भित्र एक संयन्त्र विकास गरी आवश्यक अध्ययन र अनुसन्धान पश्चात् देशमा रहेको जनशक्तिको सदुपयोग गर्न एक नयाँ प्रभावकारी कार्यक्रम ल्याउने सोच नेपाल परिवार दलमा छ। सम्पूर्ण शिक्षित नेपालीहरूलाई देशभित्र सेवा गर्ने अवसर दिन सक्ने योजना यो दलमा छ।
९.३. उत्तरी तथा दुर्गम क्षेत्रको विकास TOP
देशको उत्तरी तथा दुर्गम क्षेत्रमा पर्यटन, जडीबुटी, केबुलकार, योग तथा प्राकृतिक चिकित्सालय, हवाई सेवा आदिको विकास र विस्तार गरी जीवनस्तर माथि उकास्ने बृहत् योजनालाई नेपाल परिवार दलले पहल गर्नेछ।
९.४. कडा कानुन TOP
राष्ट्रिय विखण्डन ल्याउने, जातीय सद्भाव विथोल्ने, जाली नागरिकता लिने दिने जस्ता राष्ट्रिय संवेदनशील विषयमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्तिहरू माथि कडाभन्दा कडा कारवाही गरी दण्डहीनताको अन्त र कानुनी राज्यको स्थापना गर्ने मान्यता नेपाल परिवार दलको छ।
९.५. विभिन्न दलहरूप्रतिको धारणा TOP
यो दलले सबै राजनीतिक दलहरूप्रति मित्रवत् व्यवहार गर्नेछ। विशेषतः परिवारिक मूल्य–मान्यता, आदर्श र अहिंसामा आधारित लोकतान्त्रिक पद्धति अवलम्बन गर्ने राजनीतिक दलहरूप्रति राष्ट्रनिर्माणका सवालमा कार्यगत एकता गर्न सकिनेछ। चुनावी प्रतिस्पर्धालाई समेत स्वस्थ र शान्तिपूर्ण बनाउनुपर्ने कुरामा प्रतिबद्ध हुँदै संविधानसभाको सन्दर्भमा सबै दलले प्रतिनिधित्व गर्ने अनुकूल वातावरण र अवसर प्राप्त हुनुपर्दछ भन्ने यो दलको मान्यता छ। चुनाव सम्पन्न भैसकेपछि विभिन्न राजनैतिक दलहरूबीच नयाँ समुन्नत तथा शान्त नेपाल निर्माणमा एक जुट हुनुपर्दछ भन्ने यस दलको धारणा छ। पारस्परिक सद्भाव तथा समझदारीको भावना असल राजनैतिक वातावरणको अपरिहार्य आवश्यकता हो भन्ने कुरामा यो दल विश्वास राख्दछ।
९.६. अल्पसङ्खयकहरूप्रतिको दृष्टिकोण TOP
अल्पसङ्ख्यकहरू पनि एउटै विशाल मानव परिवारका सदस्यहरू हुन् भन्ने नेपाल परिवार दलको विश्वास छ। यो एउटा दर्शन मात्र होइन, बरु एउटा प्रबल धारणा पनि हो, जसले बहुसङ्ख्यकलाई ज्येष्ठ दाजुको हृदयले आफ्नो भाइ बन्धुहरूको दुःख पीडामा मद्दत गर्न नैतिक रूपले बाध्य पनि गराउँदछ।
९.७. स्वयम् सेवा TOP
नेपाल परिवार दल स्वयम् सेवा तथा निःस्वार्थ सेवामार्फत सिक्ने सिकाउने कार्यलाई बढावा दिन्छ। अतः नव जवान पुरुष तथा महिलाले आफ्ना औपचारिक शिक्षा तथा व्यावसायिक तालिम पूरा गरेपछि आफ्नो व्यावसायिक कार्य सुरु गर्नु भन्दा अगाडि विशेषत पिछडिएको ग्रामीण क्षेत्रमा छ महिना देखि एक वर्ष सम्म स्वयम् सेवा गर्नुपर्दछ भन्ने यस दलको मान्यता छ। सफलतापूर्वक स्वयम् सेवा पूरा गर्नेहरूलाई पुरस्कार लगायत केही सुअवसरहरू प्रदान गरेर मानिसलाई स्वयम् सेवाप्रति अभिप्रेरित गर्न सकिन्छ।
९.८. नयाँ ठाउँहरूको विकास TOP
विभिन्न दृष्टिकोणले राष्ट्रिय महत्त्व राख्ने तर पिछडिएका वा छायामा रहेका ठाउँहरूको पहिचान गरी बस्ति बसाल्ने, पर्यटकीय विकास गर्ने, स्थानीय उद्योग स्थापना गर्ने लगायतका ठाउँ सुहाउँदो उचित कदमहरूमा अगुवाइ गरी नेपालका कुना–कुनामा पनि विकासको लहर समान रूपमा फैलाउने योजनाको विकास गर्न नेपाल परिवार दल अग्रसर हुनेछ।
९.९. अन्य TOP
नेपाल परिवार दल ग्रामीण क्षेत्रको विकासको लागि आकर्षक, प्रभावकारी र व्यवहारिक कार्यक्रम ल्याउने चिन्तन राख्दछ। बेरोजगारीको समस्या समाधान गर्न प्रत्येक गाउँ र नगर विकास क्षेत्रमा नयाँ कामको सिर्जना गर्ने दूरदृष्टि यस दलले राखेको छ। युवा विद्यार्थीलाई लक्षीत गरी खेलकुदको विकासलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने सोच यो दलले लिएको छ। अव्यवस्थित बसोवासलाई नियन्त्रण गर्न र शहरमा जनघनत्वको चाप कम गर्न नेपालका प्रमुख शहरहरूभन्दा टाढा, हिमाली, पहाडी र तराई क्षेत्रमा ठाउँ सुहाउँदो उद्योग धन्दा विकास गर्न विशेष सहुलियत हुनुपर्छ भन्ने यस दलको मान्यता छ। विश्वका १९२ राष्ट्रमा यस दलले मैत्री सम्बन्ध विस्तार गरिरहेको सन्दर्भमा विभिन्न देशहरूबाट विकासका अनुभवहरू बटुली नेपाललाई छोटो समयमा विकसित राष्ट्रको तहमा पुर्याउन यो दलको प्रतिबद्ध छ। नेपाल परिवार दलले सम्पूर्ण नेपाली जनताको विश्वास र सहयोगको अपेक्षा राखेको छ।
|